
विराटनगर । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको प्रमुख नगदे बाली अलैँचीले यस वर्षको सुरुआती सिजनमै सात वर्षयताकै उच्च मूल्य पाएको छ।
नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाका अनुसार सोमबार (भदौ २) बिर्तामोडमा अलैँची प्रतिमन (४० किलो) ९४ हजार रुपैयाँमा कारोबार भएको छ। गत वर्ष यस्तै समयमा प्रतिमन ४० हजार रुपैयाँमै कारोबार भएको स्मरण गर्दै उनले भने, “यो निकै राम्रो भाउ हो, यसपालि अझै बढ्ने संकेत देखिएको छ।”
०७५ सालको सिजनमा अलैँचीको मूल्य प्रतिमन एक लाख पाँच हजार रुपैयाँसम्म पुगेको थियो भने त्यसपछि घट्दै गएको थियो। ०६७ सालमा भने अलैँची प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च दर हो।
हाल बढेको मूल्यले किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन्। “एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम २० हजार रुपैयाँसम्म लगानी गरेका हुन्छन्। अहिलेको मूल्यले उनीहरू निकै उत्साहित भएका छन्,” ढुंगानाले बताए। व्यापारीहरूले पनि अहिले खरिद गरेको अलैँची मंसिर–पुसतिर भण्डारण गरेर अझै बढी मूल्यमा बिक्री गर्ने गरेका छन्।
नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरेकोमा विशेषगरी कोसी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा यसको बढी उत्पादन हुन्छ। कोसी प्रदेशमा मात्रै सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रमा अलैँची खेती भइरहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकामार्फत सात अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। नेपालमा उत्पादित करिब ९० प्रतिशत अलैँची भारत पठाइन्छ र त्यहाँबाट ‘ब्रान्डिङ’ गरेर विश्व बजारमा पु¥याइन्छ। तर, विश्व बजारमा नेपाली अलैँचीको प्रत्यक्ष पहुँच भने अझै बनेको छैन।