
विराटनगर। बाढी पूर्वानुमान महाशाखाले आज (भदौ ३) देशका केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाभई बहने साना नदीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना छ। यी क्षेत्रमा नदीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ।
त्यसैगरी इलाम, झापा, मकवानपुर, चितवन, कास्की, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, गोरखा, जाजरकोट, दैलेख, रोल्पा, सल्यान, सुर्खेत, डडेलधुरा, कैलाली र कञ्चनपुरका साना नदीमा पनि पानीको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको ‘मध्यम’ सम्भावना रहने महाशाखाले जनाएको छ।
मंगलबार बिहान गरिएको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली र महाकालीसहितका प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको छ। त्यस्तै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सामान्य अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले आगामी केही घण्टामा वर्षा बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।