
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएका थिए। स्थानीयवासीले एम्बुलेन्समार्फत अस्पताल पठाउने क्रममा घाइते लिम्बूको घाँटीमा लगाइएको ५६ ग्राम २५ मिलीग्राम तौलको सुनको सिक्री हराएको भन्दै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमामा निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
अनुसन्धानका क्रममा उक्त सिक्री घाइतेको उद्धारमा संलग्न शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूले चोरी गरेको खुलेको प्रहरीले जनाएको छ। साउन ३२ गते साँझ गणेशचोकबाट पक्राउ गर्दा उनीहरूबाट ३९ ग्राम २२ मिलीग्राम तौल भएको सिक्रीको टुक्रा र ३० हजार रुपैयाँ नगद बरामद गरिएको हो।
प्रहरीका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।