दिल्लीकी मुख्यमन्त्री  गुप्तामाथि निवासमै थप्पड प्रहार

दिल्ली । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार उनकै सरकारी निवासमा आक्रमण भएको छ।

साप्ताहिक जनसुनुवाइ कार्यक्रम चलिरहेका बेला एक व्यक्तिले उनीमाथि हातपातको प्रयास गरेका हुन्।

सुरक्षाकर्मीले आक्रमणकारीलाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।

भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार, बुधबार बिहान मुख्यमन्त्री गुप्ताले आफ्नो निवासमा  सर्वसाधरणको गुनासो सुन्नका लागि नियमित ‘जनसुनुवाइ’ कार्यक्रम राखेकी थिइन्।

सर्वसाधरणको गुनासो सुनिरहेकै क्रममा एक व्यक्तिले मुख्यमन्त्री गुप्तालाई थप्पड हानेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यसअघि उनले मुख्यमन्त्री गुप्तालाई कपालमा समातेर तानेर थप्पड हानेका थिए। त्यसपछि त्यहाँ उपस्थित सुरक्षाकर्मी र अधिकारीहरूबीच हल्लीखल्ली र धकेलाधकेल भएको थियो।

धकेलाधकेल भएपछि मुख्यमन्त्री गुप्ता लडेकी थिइन्। उनको टाउकोमा चोट लागेको छ।

घटनालगत्तै मुख्यमन्त्रीलाई थप्पड हान्ने भनिएको व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति राजकोटका ४१ वर्षीय राजेश भाइ नाम गरेका व्यक्ति छन्। उनीबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।