तीनकुने घटना : दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामा राख्ने अदालतको आदेश

काठमाडौं । राजधानीको तीनकुनेमा भएको आगजनी र पत्रकार हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईँसहित ७ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासले बिहीबार अबेर राति सो आदेश दिएको हो। पक्राउ परेका ३९ जनामध्ये ७ जनालाई थुनामा पठाउने र अन्य ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

थुनामा पठाइनेमा दुर्गा प्रसाईँसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठ रहेका छन्। उनीहरूलाई ज्यान मुद्दा र आपराधिक उपद्रवको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएको हो।

२०७८ चैत १५ गते पूर्वराजा समर्थकहरूको प्रदर्शनका क्रममा तीनकुनेस्थित सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगजनी हुँदा समाचार संकलनका लागि पुगेका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। घटनामा रामेछापका सरोज गौतम र अछामका गोकर्ण शाहीको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनासम्बन्धी अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। घटनामा संलग्न ४ जना नाबालक रहेकाले उनीहरूकाे मुद्दा भक्तपुर पठाइएको छ।