विराटनगरमा गौरकाण्ड छानबिनसम्बन्धी सर्वोच्चको परमादेशविरुद्ध जसपाको प्रदर्शन

विराटनगर।  रौतहट जिल्लाको गौरकाण्डको छानबिनका लागि सर्वोच्च अदालतले जारी गरेको परमादेशको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले बुधबार विराटनगरमा जनप्रदर्शन गरेको छ।

जनप्रदर्शनमा सयौँ नेता–कार्यकर्ता सहभागी भएका थिए। मोरङको संसारी माइस्थानबाट सुरु गरिएको जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै बुधहाट चौकस्थित हनुमान मन्दिर अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो।

२०६३ चैत ७ गते मधेस आन्दोलनको क्रममा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र नेकपा (माओवादी)का कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी लडाकु कार्यकर्ताको मृत्यु भएको थियो। त्यही घटनाको छानबिनका लागि परेको उजुरीमा सर्वोच्च अदालतले भाद्र २ गते परमादेश जारी गरेको हो।

सर्वोच्चको आदेशविरुद्ध प्रतिक्रिया दिंदै जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले बुधबार विज्ञप्ति जारी गरी गौरकाण्डमा मधेसी जनअधिकार फोरम मुछिए पनि अहिले विभिन्न सञ्चार माध्यममार्फत जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी लान्छना लगाउने काम भइरहेको भन्दै खेद प्रकट गरेका छन्।

विरोध सभामा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य सञ्जय सिंह, केन्द्रीय सदस्य जोगिलाल यादव र सदिना खातुन लगायतले सम्बोधन गरेका थिए। उनीहरूले गौरकाण्ड छानबिनमा सरकारको सहमति नभई सर्वोच्चको आदेशमार्फत मात्र अघि बढाइएको आरोप लगाउँदै यसविरुद्ध निरन्तर आन्दोलन गर्ने घोषणा गरेका छन्।

जनप्रदर्शन तथा विरोध कार्यक्रमको नेतृत्व जसपा मोरङ अध्यक्ष राजकुमार यादवसहित पार्टीका शीर्षस्थ नेता–कार्यकर्ताले गरेका थिए।