
विराटनगर । विश्वभरबाट उठेका विरोध र आलोचनाबीच इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण सुरु गरेको छ। इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजनाअनुसार कारबाही अघि बढाएको र गाजा शहरको बाहिरी क्षेत्र नियन्त्रणमा लिइसकेको जनाएको छ।
एक सैन्य कमाण्डरका अनुसार कब्जाको तयारीस्वरूप जैतुन र जबालिया क्षेत्रमा सैनिकहरू पहिल्यैदेखि तैनाथ गरिएका छन्। यस अभियानलाई मंगलबार इजरायलका रक्षामन्त्री इजरायल काट्जले स्वीकृति दिएका थिए, र यसै हप्ताको अन्त्यतिर सुरक्षा क्याबिनेटमा पेस गरिने बताइएको छ।
इजरायली कारबाहीका कारण ठूलो संख्यामा सर्वसाधारण प्रभावित हुने सम्भावना रहेकाले अन्तर्राष्ट्रिय समुदायले यसलाई कडा रूपमा आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ। तर इजरायलले भने हमासको सम्पूर्ण सैन्य संरचना ध्वस्त नगरी युद्ध नरोकिने स्पष्ट पारेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लंघन गरेको र निर्दोष नागरिकहरूलाई मार्ने काम गरेको आरोप लगाउँदै आएको छ।
गाजा युद्धको पृष्ठभूमिमा, ७ अक्टोबर २०२३ मा हमास लडाकुहरू गाजा क्षेत्रबाट घुसी इजरायलको किबुजमा आक्रमण गर्दा १० नेपालीसहित करिब १,२०० जनाको ज्यान गएको थियो। त्यसपछिदेखि इजरायलले हमास र उसका समर्थकमाथि निरन्तर सैन्य कारबाही जारी राख्दै आएको छ।