भाद्रकृष्ण औंसीमा गोकर्णेश्वरमा भक्तजनको घुइँचो

विराटनगर । दिवंगत पितृप्रति श्रद्धा प्रकट गर्न भाद्रकृष्ण औंसीको अवसरमा आज बिहानैदेखि काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थधाममा हजारौँ भक्तजनको घुइँचो लागेको छ।

वैदिक सनातन धर्मअनुसार गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्दा २१ पुस्तासम्मका पितृ तर्ने विश्वास रहिआएको छ। यही कारण आज बिहानैदेखि हिन्दू मात्र नभई बौद्ध धर्मावलम्बीसमेत मन्दिर परिसरमा भीड लागेको हो।

भीड नियन्त्रण र सुरक्षा व्यवस्थाका लागि सुन्दरीजल–जोरपाटी र वाग्मती कोरिडोर हुँदै सवारी आवागमन निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै, मेला अवधिभर स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा र खोजतलासलगायत सुविधा उपलब्ध गराइएको गोकर्णेश्वर मेला समितिले जनाएको छ।

मन्दिरका पूजारीका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको यस तीर्थस्थलमा तर्पण अर्पण गरे अगति परेका पितृ पनि उद्धार हुने धार्मिक विश्वास रहिआएको छ।

तर, दर्शनार्थीहरूले भने व्यवस्थापनको कमीका कारण दुःख भोग्नुपरेको गुनासो गरेका छन्। डोल्पाबाट आएका भक्तजन रणेन्द्र बुढाथोकीले साँघुरो बाटो र यातायातको असुविधाका कारण समस्या भएको बताए। स्थानीयवासीहरूले सार्वजनिक जग्गामा घर बनेका कारण बाटो साँघुरो भएको उल्लेख गरेका छन्।

यस अवसरमा बौद्ध धर्मावलम्बीहरू पनि गोकर्ण धाममा पुग्ने परम्परा छ। एक वर्षभित्र पिताको निधन भएका बौद्धमार्गीहरूले यहाँ श्राद्ध, पूजा र भोज गर्ने प्रचलन रहेको बौद्ध गुरु डुण्डुप लामाले जानकारी दिए। आजको दिनमा गोकर्ण धाममा दर्शन गरेमा दिवंगत पिताको स्वरूप दर्शन पाइने विश्वास समेत गरिन्छ।

भक्तजनको भीडका कारण लाग्ने मेलाका कारण आजको औंसीलाई “गोकर्णे औंसी” पनि भनिन्छ। यस दिन पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने परम्परा रहिआएको छ।

यस्तै, हिन्दू धर्मावलम्बीहरूले आजै देशभर कुशे औंसी पर्व पनि मनाइरहेका छन्। भगवान विष्णुको स्वरूप मानिने कुशलाई घरमा भित्र्याई वर्षभरिका धार्मिक कृत्यमा प्रयोग गरिन्छ। साथै, बाबुलाई मीठो परिकार खुवाई “बाबुको मुख हेर्ने दिन” पनि आज देशभर धुमधामसँग मनाइँदैछ।