
विराटनगर । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै नयाँ कीर्तिमान नजिक पुगेको छ । शुक्रबार एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै सुनको भाउ १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो । यस हिसाबले एकैदिन भाउमा उल्लेख्य वृद्धि भएको हो । वैशाख ९ गते तोकिएको अहिलेसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँसँग आजको मूल्य झण्डै बराबरी पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य हालसम्मकै उच्च २ हजार १६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
सुन र चाँदी दुवैको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारको अस्थिरता, मूल्यवृद्धि, डलरको भाउ तथा विश्व बजारमा उत्पन्न geopolitical संकटको असर परेको व्यवसायीहरू बताउँछन् ।