
विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’ आइतबार सार्वजनिक गरेको छ। प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रहँदै उत्पादनशील जीवनयापन गर्न सक्षम हुने उद्देश्यसहित नीति सार्वजनिक गरिएको हो।
मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार स्वास्थ्य नीतिमा ६ उद्देश्य र २६ नीति तथा रणनीति समावेश गरिएको छ। गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति आज मन्त्रालयको वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो।
डा. राईका अनुसार नीतिमा प्रदेश स्वास्थ्य प्रणालीमा रहेका विभिन्न चुनौतीहरू उल्लेख छन्। आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त र व्यवस्थित पूर्वाधारको अभाव, अस्पतालहरूबाट गुणस्तरीय सेवा प्रवाहमा समस्या, आवश्यक जनशक्तिको कमी तथा व्यवस्थापनको कमजोरी, स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानीको कमी जस्ता चुनौती प्रमुख रूपमा उठाइएको छ।
त्यस्तै, विशेषज्ञ तथा सघन उपचार सेवा विस्तार हुन नसक्नु, पाँच वर्षमुनिका करिब एक तिहाइ बालबालिकामा रक्तअल्पता तथा प्रजनन उमेरका महिलामा पोषणको कमी समस्या व्याप्त हुनु, क्षयरोग, कुष्ठरोग, उपेक्षित उष्णप्रदेशीय रोग र कीटजन्य रोगहरूको संक्रमणदर उच्च हुनु समेत नीतिमा औंल्याइएको छ।
स्वास्थ्य नीतिको मूल लक्ष्य “स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश” रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० को तथ्याङ्क पनि नीतिमा समेटिएको छ। त्यसअनुसार कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्या अन्य प्रदेशको तुलनामा बढी देखिएको छ। सर्वेक्षणअनुसार मानसिक रोगको व्यापकता १३.९५ प्रतिशत, किशोरावस्थामा मानसिक रोग ११.४५ प्रतिशत, मद्यपानको लत ६.५५ प्रतिशत, लागुऔषध दुर्व्यसन ०.४५ प्रतिशत र आत्महत्याको सोच १०.६५ प्रतिशत रहेको पाइएको छ।