
विराटनगर । सप्तरीको कञ्चनरुप नगरपालिका–६, घोगनपुरका ४६ वर्षीय सत्रुधन सरदारको चन्द्र नहरमा डुबेर आइतबार साँझ मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सरदार मादक पदार्थ सेवन गरेपछि नुहाउने क्रममा नहरमा डुबेका थिए। स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
यसअघि पनि एक हप्ताअघि सोही नगरपालिका–८ स्थित चाँदनीचोक नजिकैको चन्द्र नहरमा डुबेर कञ्चनरुप–७, बलुवाका ५० वर्षीय गोविन्द चौधरीको मृत्यु भएको थियो।
लगातार दुई हप्ताभित्र सोही नहरमा दुई जनाको ज्यान गएपछि स्थानीयवासीमा त्रास बढेको छ।