हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै

विराटनगर । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ ।

दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

हरितालिका तीजको अघिल्लो दिन एक दिन मात्र दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । साथै विभिन्न संघसंस्था र कार्यालयहरुले तीज मिलन कार्यक्रम गर्ने चलन पनि चलेको छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा गर्ने चलन छ ।

तीजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ । पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीजको गीत गाउँदै नाच्ने चलन पनि छ ।