
मोरङ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा काँकरभिट्टा नाकाबाट तीन अर्ब ६९ करोड ४० लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्।
यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिभन्दा १९ करोड दुई लाखले कम हो। गत वर्ष साउन महिनामा यस नाकाबाट तीन अर्ब ८८ करोड ४३ लाख बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंले जानकारी दिए।
यस अवधिमा निर्यातमा पनि कमी देखिएको छ। चालु आवको साउनमा एक अर्ब ५४ करोड २८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ भने गत आवको सोही अवधिमा एक अर्ब ८० करोड ८२ लाखको सामान निर्यात भएको थियो।
यद्यपि आयात–निर्यात दुवै घटे पनि राजस्व संकलनमा भने वृद्धि भएको छ। कार्यालयका अनुसार चालु आवको साउनमा राजस्व एक अर्ब २६ करोड ५० लाख संकलन भएको छ, जसले गत आवको सोही अवधिभन्दा १५ करोड १८ लाखले वृद्धि देखाएको छ।