
बिराटनगर । बर्दियामा नेपाल–भारत सीमा क्षेत्रबाट ४८ लाख रुपैयाँ बराबरको चिनियाँ विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) शशस्त्र प्रहरीले पक्राउ गरेको छ।
विशेष सुराकीका आधारमा मधुवन नगरपालिका–५, गाउँ नं १० को फुलाराम चोकबाट दुई वटा साइकलमा राखी भारततर्फ लैजाँदै गर्दा एक हजार ९२० थान विद्युतीय चुरोट फेला परेको शशस्त्र प्रहरीले जनाएको छ।
शशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको गस्ती टोलीले चुरोट बरामद गरेको हो। ‘स्पेशम्यान एसपी ४०,०००’ नामक विद्युतीय चुरोटको बजार मूल्य प्रति थान दुई हजार पाँच सय रुपैयाँ रहेको छ। सो अनुसार बरामद सामानको कुल मूल्य ४८ लाख पाँच हजार रुपैयाँ हुन्छ।
गस्ती टोली देखेपछि चोरी निकासीमा संलग्न दुई जना सामान र साइकल छोडेर भारततर्फ फरार भएको शशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए।
बरामद गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पूरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको उनले बताए। खुला सीमा भएका कारण नेपाल–भारत सीमाक्षेत्रमा अवैध सामानको ओसारपसार हुने घटना बढिरहेको प्रहरीको भनाइ छ।