दिल्लीमा २० रुपैयाँको विवादपछि नेपाली मोमो व्यापारीमाथि छुरा प्रहार

विराटनगर । भारतको दिल्लीमा २० रुपैयाँ तिर्ने विषयलाई लिएर विवाद हुँदा २८ वर्षीय नेपाली मोमो व्यापारीमाथि तीन नाबालिगले छुरा प्रहार गरेका छन्।

घटना पूर्वी दिल्लीको गाजीपुर प्रहरी चौकी अन्तर्गत पर्ने राजवीर कोलोनी क्षेत्रमा भएको हो। खोडा कोलोनी निवासी र मूल रूपमा नेपालका तुल बहादुरको रूपमा पहिचान गरिएका व्यापारीलाई नाबालिगहरूले मोमोको मूल्य २० रुपैयाँ तिर्न आग्रह गर्दा आक्रमण गरिएको भारतीय मिडियाले जनाएका छन्।

पैसा तिर्न अस्वीकार गरेका तीन जनासँगको विवाद तीव्र बनेपछि उनीहरूले तुल बहादुरलाई छातीमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते तुल बहादुरलाई स्थानीयले लालबहादुर शास्त्री अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि चिकित्सकहरूले उनलाई ट्रमा सेन्टरमा रिफर गरेका थिए। हाल उनको अवस्था स्थिर रहेको बताइएको छ।

यस घटनामा संलग्न तीन नाबालिगलाई गाजीपुर प्रहरी चौकीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।