
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा सोमबार बिहान भएको आगलागीमा तीन वटा पसल जलेका छन्। ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट टीका खनालले सञ्चालन गर्दै आएको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल र किराना पसल जलेर क्षति पुगेको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएका थिए।