वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दो, स्रोत भने अझै अज्ञात

विराटनगर। वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमै हैजाको सङ्क्रमण फैलिँदै गएको छ । तर अहिलेसम्म हैजाको वास्तविक स्रोत भने पत्ता लाग्न सकेको छैन ।

गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिन थालेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म ७९ जना हैजाका सङ्क्रमित फेला परेका छन् । आइतबार बेलुकीसम्म ७१ जना सङ्क्रमित भेटिएकोमा सोमबार बिहानसम्म थप ८ जना थपिएका हुन् ।

उनका अनुसार हालसम्म १०३ जना विभिन्न अस्पतालमा भर्ना भई उपचाररत छन् । उनले भने, “हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन । विश्व स्वास्थ्य संगठन (WHO) लगायतका प्राविधिक टोलीले पानीको परीक्षणलगायत काम गरिरहेका छन् । सम्भवत् आजसम्ममा स्रोतको पहिचान हुने आशा छ ।”

यस्तै, नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा मात्र ३० जना बिरामी भर्ना भएको बताए । उनका अनुसार हैजाको उपचारका लागि शैया र जनशक्ति दुवैको अभाव देखिएको छ । “अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक सहयोग आइपुगेको छैन । कागजी प्रक्रियामा सहयोग गर्ने भनिए पनि वास्तविक रूपमा आवश्यक जनशक्ति र उपचारका सामग्री आइपुगेका छैनन्,” उनले भने ।

स्थानीयस्तरमै रोग तीव्र गतिमा फैलिँदै गएपछि जनस्वास्थ्य सरोकारवालाले तत्कालै हैजाको स्रोत पत्ता लगाई नियन्त्रणका लागि ठोस कदम चाल्न आग्रह गरेका छन् ।