पशुपतिनाथमा हरितालिका तिज : ६३३ सशस्त्र प्रहरीसहित स्वास्थ्यकर्मी परिचालन

विराटनगर । हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा लाग्ने मेलाको सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालले व्यापक सुरक्षा व्यवस्था गर्ने भएको छ। मेला अवधिभर स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित ६ सय ३३ जना जनशक्ति परिचालन हुने सशस्त्र प्रहरीले जनाएको छ।

यस वर्षको सुरक्षा व्यवस्थामा १ सय ३२ जना महिला सशस्त्र प्रहरी पनि खटिनेछन्। ती प्रहरीहरूलाई सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्यूटीमा परिचालन गरिनेछ। दर्शनार्थी तथा महिला दिदीबहिनीको सहजताका लागि विशेष ध्यान दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

मेलास्थलमा सशस्त्र प्रहरी नायव उपरीक्षक किशन केसीको कमाण्डमा कमाण्ड पोस्ट स्थापना गरिएको छ भने समग्र सुरक्षाको जिम्मेवारी नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले लिनेछ। उपत्यकास्थित विभिन्न कार्यालयबाट मात्र एक सिफ्टमा २ सय ९१ भन्दा बढी सशस्त्र प्रहरी खटिने व्यवस्था गरिएको छ।

त्यस्तै, आकस्मिक अवस्थामा मद्दतका लागि ६ वटा प्लाटुन तयारी अवस्थामा राखिएका छन्। तीमध्ये नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, नम्बर १८ निलबराही गण, नम्बर २० विपद् उद्धार गण सिनामंगल, नम्बर २१ दक्षिणकाली गण खुमलटार, नम्बर २२ गुहेश्वरी गण भक्तपुर र नम्बर २४ बाघभैरव गुल्म काठमाडौं सामेल छन्।

स्वास्थ्य सेवाको लागि नेपाल एपीएफ अस्पतालले महिला चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी खटाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ। त्यस्तै, नम्बर २० विपद् उद्धार गण सिनामंगलबाट गोताखोर टोलीसहितको वाटर रेस्क्यु टिमलाई राम मन्दिर नजिकै बागमती किनारमा खटाइने भएको छ।

सशस्त्र प्रहरी बलले तिजमा आउने लाखौं भक्तजनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित ढंगले दर्शन गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।