तीज पर्वमा पशुपतिनाथ मन्दिरका चार ढोका बिहानैदेखि खुला

बिराटनगर । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन मूल मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खोलिएको छ।

पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य–सचिव सुभासचन्द्र जोशीका अनुसार भक्तजनलाई छिटो र सहज दर्शनका लागि दर्शनमार्ग सुधार, सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, चन्दन–प्रसाद वितरण, जुत्ता–चप्पल राख्ने स्थान, आकस्मिक स्वास्थ्य सेवा, भजन–कीर्तन, दिपावलीलगायतका आवश्यक सुविधा उपलब्ध गराइएको छ।

मन्दिरमा चार वटा लाम र मूल प्राङ्गणभित्र आठ वटा लामको व्यवस्था गरिएको छ। दर्शनका लागि गौरीघाट, मित्रपार्क, पिंगलास्थान र तिलगंगा हुँदै प्रवेश गर्ने गरी फरक–फरक लाइन तोकिएको छ। भक्तजनले प्रवेश ढोकाबाट मन्दिरभित्र छिरेर अर्को ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ।

श्रीयन्त्र पूजाको समयमा पनि भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्ने गरी विशेष व्यवस्था गरिएको छ। दर्शनपछि भक्तजनलाई चन्दन वितरणका लागि सानो सदावर्त सत्तल, पञ्चदेवल, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा, वनकाली, गौशाला र जयबागेश्वरीमा व्यवस्था गरिएको कोषले जनाएको छ।

कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार विदेशी पर्यटकले प्रवेश शुल्क तिरेर मेला क्षेत्र (मन्दिर प्राङ्गण बाहेक) अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ। साथै, गौदान र धार्मिक अनुष्ठानका लागि भकुण्टोल–वनकाली मार्ग नजिकै विशेष स्थान तोकिएको छ।

भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन र स–साना बालबालिका लिएर मन्दिरमा नआउन अनुरोध गरिएको छ। नियमित दर्शनार्थीका लागि भने बिहान ५ः३० बजेसम्म कुनै पनि चार ढोकाबाट प्रवेश गर्न सक्ने व्यवस्था गरिएको कोषले स्पष्ट पारेको छ।

पशुपतिनाथ मन्दिर दर्शनका लागि कुनै प्रकारको पासको व्यवस्था नगरिएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिएका छन्।