
विराटनगर । वीरगञ्ज महानगरमा हैजाबाट संक्रमित हुनेको संख्या बढ्दै गईरहेको छ। सोमबारसम्म महानगरमा हैजा संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ।
आइतबार बेलुकीसम्म ७१ जनामा मात्र हैजा पुष्टि भएकोमा सोमबार थप २२ जना नयाँ संक्रमित फेला परेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए। उनका अनुसार हालसम्म विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्।
नारायणी अस्पतालमा गरिएको आरडिटी परीक्षणमा ३२ जना बिरामीमा कलेरा संक्रमण भेटिएको छ। यस्तै, तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा तीन–तीन जना संक्रमित भेटिएका छन्। अर्ली अर्थाे अस्पतालमा दुई जना संक्रमित भेटिएको छ भने नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल र सर्वोत्तम अस्पतालमा एक–एक जना संक्रमित फेला परेको छ।
अहिलेसम्म अस्पताल पुगेका झाडापखाला र हैजाका बिरामीको संख्या ३४४ पुगेको छ। तीमध्ये २७ जना आइसियुमा, ६ जना एचडिसियुमा र १२२ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमण नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा उच्च सतर्कता अपनाइएको भए पनि संक्रमितको संख्या अझै घट्न सकेको छैन।