
विराटनगर । झापाको बिर्तामोड नगरपालिका–५ की ५२ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाले उनीमा एन्टिजेन परीक्षणमार्फत संक्रमण देखिएको जानकारी दिएको छ।

मिल्दोजुल्दो लक्षण देखिएपछि बिर्तासिटी अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन युवनाथ बरालले बताए। संक्रमित महिला हाल घरमै आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काका अनुसार ती महिलाले हालसालै बाहिरी यात्रा नगरेको र कसरी संक्रमण भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। परिवारका अन्य सदस्यहरूमाथि पनि परीक्षण प्रक्रिया अगाडि बढाइएको छ।
भारतका विभिन्न सहरमा कोभिड संक्रमण दर बढ्दै गएको अवस्थामा सीमावर्ती सहरहरूमा सतर्कता आवश्यक भएको स्वास्थ्य विज्ञहरूको सुझाव छ। उनीहरूले नेपाल–भारत नाकाहरूमा निगरानी कडाइ गर्न र नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन्।