
विराटनगर। यही बिहीबारदेखि नेपालसहित ४० भन्दा बढी मुलुकमा एकैसाथ प्रदर्शनमा आउन लागेको सिनेमा “कोशेढुंगा” सबै उमेरका दर्शकले हेर्न मिल्ने भएको छ। सेन्सर बोर्डले सिनेमा लाई यूनिभर्सल सर्टिफिकेट प्रदान गरेसँगै यो सिनेमा सबै उमेर समूहका लागि उपयुक्त घोषित भएको हो।
सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको महिला प्रधान यस सिनेमामा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले र लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय छ।
सिनेमामा प्रेविल कँडेल र किशोर अनुराग निर्माता, दिनेश खड्का कार्यकारी निर्माता, बाबु श्रेष्ठ छायाङ्कनकर्ता र नहकुल खड्का सम्पादकका रूपमा छन्। आशिष अविरल र रिदम कँडेलले संगीत दिएका छन्।
सिनेमालाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनल ले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएर नेपालसँगै अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा लगायत ४० भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा ल्याउन लागेको हो।
स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौंमा छायांकन गरिएको कोशेढुंगा को टिजर, ट्रेलर तथा गीत–संगीतले प्रदर्शनअघि नै दर्शकमाझ राम्रो चर्चा बटुलेको छ। यही कारण यसलाई व्यवसायिक रूपमा सफल हुने अपेक्षा गरिएको छ।
किर्तिमानी सिनेमा “पूर्णबहादुरको सारंगी” का निर्देशक सरोज पौडेलकै अर्को बहुप्रतिक्षित कृति “कोशेढुंगा” आज अपराह्न प्रिमियर हुँदैछ भने अग्रिम बुकिङ पनि सुरु भइसकेको छ।