
विराटनगर । बडादशैँलाई अवसर बनाई यस वर्ष पनि विराटनगरमा ‘विराट सडक महोत्सव’ आयोजना हुने भएको छ।
मन्जिना मुभिज क्रियसनको पहलमा हुने महोत्सव असोज ६ गतेदेखि ११ गतेसम्म विराटनगरको हिमालय रोड क्षेत्रमा सञ्चालन हुने जानकारी आयोजकले दिएको छ।
पाँचौँ संस्करणमा प्रवेश गर्न लागेको महोत्सव यसपटक थप बृहत् रूपमा प्रस्तुत गरिने निर्देशक जतिन ताम्राकारले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनका अनुसार, महोत्सवमा विभिन्न जातजातिका परम्परागत परिकारदेखि राष्ट्रिय स्तरका खानासम्मका २५ वटा स्टल रहनेछन्। आगन्तुकहरूले एकै स्थानमा विविध स्वादको अनुभव लिन सक्नेछन्।
महोत्सव अवधिभर दैनिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने जनाइएको छ। स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, खेलकुद र सामुदायिक आकर्षणसहितका गतिविधिहरू महोत्सवमा समावेश हुनेछन्।
आयोजकले विराटनगरसँगै मोरङका ग्रामीण क्षेत्र र छिमेकी भारतीय शहरहरूमाबाट समेत ठूलो संख्यामा आगन्तुकहरूको उपस्थिति हुने अपेक्षा गरेका छन्।
स्थानीय व्यवसाय प्रोत्साहन, पर्यटन प्रवर्द्धन र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित आयोजना हुँदै आएको यस सडक महोत्सवले यसपटक पनि विराटनगरलाई जीवन्त र उत्सवमय बनाउने विश्वास गरिएको छ।