तीन प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेपछि शुक्रबार बिहानैदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था देखिएको छ। महाशाखाका अनुसार, देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा समेत भएको छ।

शुक्रबार दिउँसो पनि देशभर बदली रहने र सातै प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारी वर्षा हुने पूर्वानुमान छ।

शुक्रबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। राति कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।

मौसमविद् झाले भोलिदेखि भने मौसम केही सुधार हुने सम्भावना रहेको बताए। उनका अनुसार, “मनसुनको समय भएकाले मध्यम वर्षा भइहाल्छ, तर भोलिदेखि भारी वर्षाको सम्भावना भने कम हुनेछ।”