सर्लाहीमा २५ किलो गाँजासहित एक युवक पक्राउ

विराटनगर । सर्लाही प्रहरीले २५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोन बुधबार बिहान पक्राउ परेका हुन्। करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक र पछाडि सवार दुबैले दुईवटा झोला फालेर खेततर्फ भागेका थिए। त्यस क्रममा प्रहरीले ब्लोनलाई पक्राउ गर्न सफल भए पनि अर्का व्यक्ति भने फरार भएका छन्।

प्रहरीका अनुसार बरामद गरिएको झोलामा ५ पोका गाँजा फेला परेको छ, जसको तौल करिब २५ किलो रहेको छ। मोटरसाइकलसहित बरामद गाँजा नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी पक्राउ परेका ब्लोनलाई नियन्त्रणमा राखिएको जनाएको छ। साथै फरार अभियुक्तको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।