
विराटनगर । प्रहरीले चरेश र खैरो हिरोइनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये दुई जना होटल सञ्चालक र मोटरसाइकल चालकसमेत रहेका छन्।
लागुऔषध ब्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले विभिन्न स्थानमा सञ्चालन गरेको अपरेसनमा ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइन बरामद भएको हो।
डोटीको शिखर नगरपालिका–८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ बस्ने ३५ वर्षीय वीरबहादुर रावललाई सु.प.प्र.०४००१ प ०६६५ नम्बरको मोटरसाइकलसहित जाँच गर्दा २ ग्राम ७६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, कैलाली चुरे गाउँपालिका–३ का ३२ वर्षीय मोहन मल्ललाई मोबाइलको खोलभित्र लुकाइएका ५९० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको छ।
बझाङ बुङ्गल नगरपालिका–८ घर भई धनगढी उप–महानगरपालिका–२ मा जयराम होटल एण्ड लज सञ्चालन गर्दै आएका ३२ वर्षीय राम बोहराको होटलमा प्रहरीले छापा मार्दा ४ किलो ६९० ग्राम चरेश फेला परेको थियो। चरेशसहित बोहरालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, धनगढी उप–महानगरपालिका–१२ बस्ने २३ वर्षीय विजय बिकले चलाएको सु.प.प्र.०१०१३ प २३४५ नम्बरको मोटरसाइकलमा जाँच गर्दा ७४० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। सो मोटरसाइकलमा सवार २२ वर्षीय प्रदीप रानासहित विजयलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।