१६ दिनसम्म महालक्ष्मी व्रतारम्भ

विराटनगर । भाद्र शुक्ल सप्तमीदेखि सुरु हुने महालक्ष्मी व्रत आजदेखि विधिपूर्वक सुरु भएको छ। यो व्रत १६ दिनसम्म निरन्तर गरिने परम्परा रहेको छ। असोज १९ गते शुक्रबार अर्थात् आश्विन कृष्ण सप्तमीसम्म यो व्रत गरिनेछ।

हिन्दू धार्मिक मान्यताअनुसार निष्ठापूर्वक लक्ष्मीमाताको आराधना गर्ने उपासकले धन, ऐश्वर्य र समृद्धि प्राप्त गर्ने विश्वास गरिन्छ। यसैले महालक्ष्मी व्रतालाई देवी लक्ष्मीलाई प्रसन्न तुल्याउने विशेष अवसरका रूपमा लिइन्छ।

व्रतकर्मीहरूले ब्रह्मचार्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम रहेको छ। पूजापाठमा दूध, चन्दन र दुग्धजन्य पदार्थले लक्ष्मीको पूजन गरिन्छ भने कमलको दाना भएको माला जप्दै अर्चना गर्ने चलन छ। साथै सात मुखे रुद्राक्ष लगाउनु पनि अत्यन्त फलदायी हुने धार्मिक विश्वास छ।

यस व्रतको प्रभावले मृत्युपछि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने र घरमा ऐश्वर्य कायम हुने मान्यता छ। धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार समुन्द्र मन्थनका क्रममा क्षीरसागरमा उत्पन्न भएकी लक्ष्मी देवीको शुभविवाह भगवान विष्णुसँग भएको थियो। कमलको फूलमा आसन्न रहँदै लक्ष्मी माताले निरन्तर धनको बरसात गर्ने भएकाले उनी धन र समृद्धिकी अधिष्ठात्री देवी मानिन्छिन्।