धनगढीमा पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ

विराटनगर। धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट प्रहरीले ठूलो परिमाणको चरेशसहित होटल सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ मा जयराम होटल एण्ड लज सञ्चालन गर्दै आएका सञ्चालक राम बोहरालाई शुक्रबार ५ किलो ६९० ग्राम चरेशसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले बोहराको होटलमा शङ्कास्पद गतिविधि भएको सूचना पाएपछि चेकजाँच गर्दा उक्त परिमाणको चरेश बरामद भएको जनाइएको छ।

यसैगरी, धनगढीका विभिन्न स्थानबाट प्रहरीले ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित अन्य ४ जनालाई पनि पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।