पृथ्वी लोकमार्ग बाँदरेमोडमा पहिरो, सडक अवरुद्ध

विराटनगर । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।

आज विहान खसेको पहिरोका कारण सडक दुईतर्फी बन्द भएको र आवागमन पूर्णरूपमा प्रभावित भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ छुटेका सवारीसाधन बाटैमा अलपत्र परेका छन्।

अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सडक अवरुद्धका कारण यात्रुहरूलाई असुविधा पुगेको छ भने प्रहरीका अनुसार सम्भव भएसम्म चाँडो आवागमन सहज बनाउने तयारी भइरहेको छ।