फोटोग्राफर संघ मोरङद्वारा रक्तदान, ३५ पिन्ट रगत संकलन।

विराटनगर । फोटोग्राफर संघ मोरङले विराटनगरको महेन्द्र चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको छ।
संघका मोरङ अध्यक्ष पुरन राईका अनुसार कार्यक्रममार्फत संकलित रगत विराटनगरस्थित रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको हो। हाल रक्त संचार केन्द्रमा देखिएको रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिए।
‘रगतदान, जीवन दान’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा संघका पदाधिकारी, स्थानीयवासी र पेशागत फोटोग्राफरले सहभागिता जनाएका थिए। कार्यक्रममा रक्तदान गर्ने सबैलाई अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।
संघले सामाजिक उत्तरदायित्वअनुरुप यस्ता मानवतामूलक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।