मोरंग इलेक्ट्रिक संघको अध्यक्षमा कैलाश विश्वास निर्विरोध चयन

विराटनगर । मोरंग इलेक्ट्रिक संघको १६औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन विराटनगरस्थित कञ्चनजंगा बैंक्वेटमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतिय व्यवसाय महासंघका प्रथम उपाध्यक्ष प्रेमबहादुर जीसी रहेका थिए । सो अवसरमा FNCCI कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, CNI का प्रकाश मुन्दडा, उद्योग संगठन मोरंगका नन्द किशोर राठी, मोरंग उद्योग व्यापार संघका अनिल शाहलगायत नेपालका विभिन्न विद्युतिय व्यवसाय संघका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

अधिवेशनले कैलाश विश्वासलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्ष राजेश अग्रवाल, प्रथम उपाध्यक्ष पवनकुमार शाह, द्वितीय उपाध्यक्ष बिनिता दाहाल, महासचिव ज्ञानबहादुर रावत, सचिव अभिन पोखरेल र कोषाध्यक्ष काशिन्दर प्रसाद गुप्ता रहेका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा बासुदेव घिमिरे, गौरव बंग, चन्दनकुमार रौनियार, दिपक जोशी, चन्द्रमणि ढकाल, चेवन अधिकारी, अंकुर कनोडिया र चेतन अग्रवाल चयन भएका छन् ।

नवगठित कार्यसमितिले आगामी कार्यकालमा विद्युतिय व्यवसायीहरूको हकहित संरक्षण, संघको सुदृढीकरण, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।