बलिउड अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्धित

विराटनगर। भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत आगामी नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने उक्त फिल्ममा रावतले महत्त्वपूर्ण भूमिका निभाउने भएका हुन्।

निर्देशक पन्तले आधिकारिक विज्ञप्ति जारी गर्दै रावतले आफूले निर्देशन गर्न लागेको नयाँ फिल्ममा सहमति जनाइसकेको जानकारी दिएका छन्। ‘आ बाट आमा’मा प्रदीप रावत अभिनेता पल शाहका बुवाको भूमिकामा देखिनेछन्। निर्देशक पन्तका अनुसार उनले यस पटक नितान्त नेपाली परिवेश र शैलीमा आधारित भूमिकामा अभिनय गर्नेछन्।

रावतले नेपाली फिल्ममा काम गर्न पाउनुमा आफू निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन्। यसअघि पन्तकै अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’मार्फत उनले नीता ढुंगानाका बुवाको भूमिकाबाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेका थिए।

प्रदीप रावत बलिउड फिल्म ‘गजिनी’मा खलनायकको भूमिकाबाट निकै चर्चित छन्। उनले उक्त फिल्ममा बलिउड अभिनेता आमिर खानसँग स्क्रीन सेयर गरेका थिए।

निर्देशक पन्तले फिल्मको तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी गराउँदै कलाकार तथा प्राविधिकहरुको अन्तिम टुंगो चाँडै लाग्ने बताएका छन्। भदौदेखि छायांकनको तयारी गरिएको छ।

यसअघि अभिनेत्री विपना थापा र अभिनेता पल शाह पनि यस फिल्ममा अनुबन्ध भइसकेका छन्। पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’बाट १६ वर्षपछि रजतपटमा पुनरागमन गरेकी थिइन् विपना थापाले।

फिल्मको कथा अभिमन्यु निरवीले लेखेका हुन्। थिम पोस्टर दुई साता अघि सार्वजनिक भइसकेको छ भने प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्देशक पन्तका अनुसार ‘आ बाट आमा’ आउँदो फागुन १५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।