
विराटनगर। विराटनगरमा सामाजिक कार्य गर्दै आएको एएलसी ब्याच ०५३ समूहले विराटेश्वर वृद्धाश्रम सेवा समितिलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
सरस्वती माविबाट ०५३ सालमा एसएलसी दिएका युवाहरूको समूहले शनिबार एक कार्यक्रम आयोजना गर्दै विराटनगर–८ स्थित आश्रमका ६५ जना वृद्धवृद्धालाई भोजन गराउनुका साथै तन्ना, ऐना र नेल काट्ने सामग्री वितरण गरेको हो।
समूहका संयोजक सुमन अधिकारीका अनुसार मासिक रूपमा संकलन गरिएको रकमबाट करिब ३५ हजार रुपैयाँ बराबरका सामग्री खरिद गरी उपलब्ध गराइएको हो। ‘‘हामीले आश्रमका सञ्चालकसँग कुरा गर्दा ओछ्यानमा लगाउने तन्ना, नेल कटर र ऐनाको आवश्यकता रहेको जानकारी पाएका थियौं,’’ संयोजक अधिकारीले बताए।
उनका अनुसार सोही अनुसार समूहले ७० थान तन्ना, एक दर्जन काइयो, एक दर्जन नेल कटर र दुई थान ऐना हस्तान्तरण गरेको हो।
समाजसेवामा सक्रिय रहेको समूहले आगामी दिनमा पनि विराटनगरभित्र सकारात्मक कार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।