
विराटनगर । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो। शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइसकेको छ।
यस्तै, चाँदीको मूल्य पनि रेकर्ड कायम गर्दै एकैदिन प्रतितोला ६५ रुपैयाँले बढेको छ। अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
विशेषगरी अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि र स्थानीय मागसँगै नेपाली बजारमा सुन–चाँदीको मूल्य ऐतिहासिक उच्चमा पुगेको व्यवसायीको भनाइ छ।