दसैँमा नयाँ नोट उपलब्ध नहुने, सुकिला नोट मात्र साट्न पाइने

विराटनगर । यसपालिको दसैँमा सर्वसाधारणले नयाँ नोटको सट्टामा चलनचल्तीमा रहेका तर सफा (सुकिला) नोट मात्र साट्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यस वर्ष नयाँ नोट उपलब्ध नगराइने स्पष्ट पारेको हो।

राष्ट्र बैंकका अनुसार भदौ १९ देखि असोज १० गतेसम्म नोट सटहीको सुविधा उपलब्ध हुनेछ। यो सुविधा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग, तथा विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयहरूबाट लिन सकिनेछ। साथै, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सर्वसाधारणले सुकिला नोट साट्न सक्ने व्यवस्था मिलाइएको छ।

विगतमा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्न पाइने व्यवस्था थियो। यस वर्ष पनि सोही सीमा अनुसार सुकिला नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार विगतमा दसैँमा वितरण गरिएका नयाँ नोट छोटो समयमै झुत्रो हुने, ढुकुटीमा लामो समय थन्किँदा नोटको आयु घट्ने र व्यवस्थापन खर्च बढ्ने समस्या देखिएको थियो। यही समस्या समाधान गर्न यस वर्ष नयाँ नोट वितरण नगर्ने निर्णय गरिएको हो।

बैंकले नोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सबैलाई आग्रह गरेको छ। साथै, नोटमा केरमेट नगर्न, दुरुपयोग नगर्न चेतावनी दिँदै प्रचलित कानुनअनुसार कारबाही हुनेसमेत जनाएको छ।