
विराटनगर । मेची राजमार्गमा पर्ने फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा निर्माणाधीन मोडुलर पुल जडान गर्ने क्रममा पुल भाचिएको छ।

७० मिटर लामो सिङ्गल स्पानको उक्त मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा अचानक भाचिएर दुर्घटना भएको हो। घटनामा केही कामदार घाइते भएको जनाइएको छ भने विस्तृत विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।
नेपालमै पहिलोपटक ७० मिटर लामो मोडुलर पुल जडान कार्य भैरहेको थियो। बिचमा कुनै पनि सपोर्टिङ पिल्लर बिना तयार पारिँदै गरेको उक्त पुल भारतीय प्राविधिकको सहायतामा जडान गरिदै आएको थियो।
हेवा खोलामा यसअघि बनेका दुईवटा पुल बाढीले बगाएपछि मोडुलर ब्रिज निर्माण थालिएको हो। २०८० सालको बर्खे बाढीले पक्की पुल बगाएपछि वैकल्पिक रुपमा बनाइएको बेलिब्रिज समेत २०८१ असोजको बाढीले बगाएपछि यो नयाँ प्रविधिको पुल निर्माणको काम थालिएको थियो।
स्थानीय बासिन्दाले निर्माणाधीन पुल भाचिएपछि चासो व्यक्त गरेका छन्। घटनास्थलमा सुरक्षाकर्मी र प्राविधिक टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान र विवरण संकलन भइरहेको जनाइएको छ।