विराटनगरमा ‘वडा परिचय’ पुस्तक विमोचन

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ११ द्वारा तयार पारिएको ‘वडा परिचय’ पुस्तक आज आइतबार एक समारोहबीच विमोचन गरिएको छ।

विराटनगरमा आयोजित उक्त कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथि पूर्व उपमेयर इन्दिरा कार्की, महानगर प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल, वडा अध्यक्ष तीर्थेन्द्र नेउपाने, पूर्ववडाध्यक्ष केदारबहादुर बस्नेत, समाजसेवी चन्द्रमणि नेउपानेलगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो।

अग्रज पत्रकार यज्ञ शर्मा र लेखक निर्मल तामाङको लेखन तथा सम्पादनमा तयार पारिएको पुस्तकमा वडाको राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, साहित्यिकलगायतका विविध पक्ष समेटिएका छन्।

समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले वडाको समग्र विवरण प्रस्तुत गर्ने पुस्तक प्रकाशन भएकोमा टिमलाई बधाई दिनुभयो। पूर्व उपमेयर इन्दिरा कार्कीले यसलाई ऐतिहासिक दस्तावेजका रूपमा रहने बताउनुभयो भने प्रमुख प्रशासकीय अधिकृत दुलालले वडाबारे जानकारी लिन चाहनेका लागि पुस्तक उपयोगी हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नं. ८ का राम पोखरेल, वडा नं. १० का अर्जुन गिरी, वडा नं. १५ का प्रकाश साह, वडा नं. १९ का श्याम घिमिरेलगायतका विभिन्न वडाध्यक्षहरूको उपस्थिति थियो। साथै समाजसेवी रामबाबु पासवान, जनपथ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइराला, नेकपा एमाले विराटनगर महानगर अध्यक्ष बलराम गिरी, नेपाली कांग्रेस विराटनगर सचिव झुमा निरौला, लेखक यज्ञ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सोही अवसरमा वडा नं. ११ को आधिकारिक वेभसाइट पनि सार्वजनिक गरिएको थियो।