
विराटनगर। उद्योगी एवं व्यापारीहरूको संस्था उद्योग संगठन मोरङको ५२औं साधारण सभाले नन्दकिशोर राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। आगामी २ वर्षका लागि यो समितिले काम गर्नेछ।

समितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन्। सदस्यमा सौरभ सारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दिपक अग्रवाल, सिद्धार्थ कावरा निर्वाचित भएका छन्।
संगठनको विधानले नवनिर्वाचित अध्यक्षलाई १ जना महिलासहित ३ जना सदस्य मनोनयन गर्ने अधिकार दिएको छ। त्यसअनुसार अध्यक्ष राठीले सदस्यमा प्रतीक राउत, पारस गोल्छा र महिला सदस्यमा किरण ब्यासलाई मनोनयन गरेका छन्।
२०२४ सालमा स्थापना भएको यो संस्थाको संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुन्। यो संगठनमा सुनसरी, मोरङ औद्योगिक क्षेत्रका २ सय ३५ भन्दा बढी उद्योग तथा प्रतिष्ठान आवद्ध छन्।
निजी क्षेत्रको हितका लागि काम गर्दै आएको यो संस्थाले मुद्दा–आधारित नीति वकालत, व्यवसाय विकास सेवा वितरण र क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उद्योगहरूलाई प्रवर्द्धन गर्ने, उद्देश्यहरू प्राप्त गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र वाणिज्य क्षेत्रसम्म पहुँच पुर्याउने, सरकार र औद्योगिक क्षेत्रबीच आवश्यक समन्वय गर्ने काम गर्दै आएको संस्थाले जनाएको छ।
यसैगरी, लगानी वातावरण, तालिम, कार्यशाला, औद्योगिक व्यापार मेला, सेमिनार, वार्ता र कर्पाेरेट सामाजिक उत्तरदायित्व जस्ता विभिन्न गतिविधिहरूलाई प्रवर्द्धन गर्न पनि संगठनले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।