
विराटनगर।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चंगबीच मंगलबार बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउस मा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल–चीनबीचको आपसीहितका विविध विषयमा छलफल गरिएको थियो। चिनियाँ पक्षले दुई देशबीच कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै मुलुकलाई लाभ हुने आयोजना अघि बढाउने प्रस्ताव राखेको जनाइएको छ।
प्रधानमन्त्री ओलीले उच्चस्तरीय आतिथ्यका लागि चीन सरकारप्रति आभार व्यक्त गर्दै नेपालले ‘एक चीन नीति’प्रति आफ्नो स्पष्ट अडान दोहोर्याएका थिए। उनले नेपाल आफ्नो भूमिबाट चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
साथै, प्रधानमन्त्री ओलीले हालै सम्पन्न शाङ्घाई सहयोग संगठन (एससीओ) बैठकलाई उपलब्धिमूलक भएको बताएका थिए।