पोर्चुगलमा नेपथ्यको धमाकेदार कन्सर्ट

विराटनगर । लोक रक ब्यान्ड नेपथ्यले पोर्चुगलको राजधानी लिस्बनस्थित ‘लिस्बोआ अओ भिभो’ हलमा आइतबार राति भव्य कन्सर्ट सम्पन्न गरेको छ।

हल खचाखच भरिएका दर्शकलाई गायक अमृत गुरुङले पहिलो प्रस्तुति स्वरूप ‘कोशीको पानी यो जिन्दगानी…’ गीत सुनाएका थिए। त्यसपछि क्रमशः ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ गीत प्रस्तुत गर्दै माहोललाई झन् रोमाञ्चक बनाए।

कन्सर्टमा ३३ वर्षअघि नेपथ्यले सार्वजनिक गरेको पहिलो गीत *‘आँगनैभरि’*देखि केही महिनाअघि मात्रै रिलिज भएको ‘कर्नालीका छाइला’ सम्मका गीतहरूले दर्शकलाई नचाएका थिए। ‘जोगले हुन्छ भेट’, ‘यो जिन्दगानी’ लगायतका चर्चित गीतमा उपस्थित दर्शकहरूले नेपथ्यसँगै गाएर उत्साह प्रकट गरेका थिए।

नेपथ्यको यो प्रस्तुति पोर्चुगलमा रहेका नेपाली र स्थानीय संगीतप्रेमी दुवैका लागि अविस्मरणीय बनेको छ।