
विराटनगर। नुवाकोटको तादी गाउँपालिका–२ चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने तीन जना विद्यार्थी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाका अनुसार आज अपराह्न करिब ४ बजे विद्यालय छुट्टीपश्चात् घर फर्कने क्रममा खोलाले बगाउँदा बालकक्षा पढ्ने स्थानीय रामबहादुर तामाङकी ४ वर्षीया छोरी शशिकला तामाङको घटनास्थलमै मृत्यु भएको हो।
खोलाको कल्भर्ट पार गर्ने क्रममा हात समाएर तर्ने क्रममा शशिकलालाई खोलाले बगाएर करिब १०० मिटर तल पुर्याएको तादी–२ का वडाध्यक्ष बच्चुराम तामाङले जानकारी दिए।
सोही क्रममा बाढीले बगाएका अन्य विद्यार्थीहरू—जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ भने भाग्यवश किनारतर्फ पुग्न सफल भएका थिए। उनीहरू घाइते भएकाले अहिले खरानीटार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।