
बिहान मुस्लिम समुदायले विराटनगरको मेनरोडस्थित जामा मस्जिदबाट सुरु भएको र्याली आयोजना गरेका थिए। मौलिक तथा नेपाली पोसाकमा सजिएका मुस्लिम युवक–युवतीको सहभागितामा निस्किएको सो र्यालीले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो।
पर्वको अवसरमा विराटनगर महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले सूचना जारी गर्दै भदौ २० गते (सेप्टेम्बर ६) मुस्लिम समुदायको धार्मिक पर्व मोहम्मद डे लाई सम्मानपूर्वक मनाउनका लागि महानगरभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकाय बन्द रहने व्यवस्था मिलाएको हो।
मुस्लिम धर्मावलम्बीहरूले मोहम्मद डे लाई पैगम्बर मोहम्मदको जन्मोत्सवका रूपमा मनाउने गर्छन्। यस दिन विशेष प्रार्थना, धार्मिक सभा, कुरान वाचन, तथा समाजसेवामूलक कार्यक्रमसमेत आयोजना गरिन्छ।
विराटनगरमा मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको हुँदा महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ। महानगरपालिकाको यो निर्णयप्रति स्थानीय मुस्लिम समुदायले आभार व्यक्त गरेका छन्।