सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड

विराटनगर । नेपाली बजारमा सुन–चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर प्रतितोला २ लाख १२ हजार पुगेको छ। यससँगै सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। शुक्रबार प्रतितोला २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर २ हजार ५ सय पुगेको हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा परिरहेको छ। सुन–चाँदी व्यवसायीले मूल्य वृद्धिका कारण कारोबार भने प्रभावित हुने अनुमान गरेका छन्।