आज राति खग्रास चन्द्रग्रहण, नेपालबाट पूर्णरूपमा देख्न सकिने

विराटनगर । आज (आइतबार) राति नेपालमा खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

खगोलविद्हरूका अनुसार ग्रहण नेपाली समयअनुसार राति १० बजेर ११ मिनेटमा सुरु हुने, राति ११ बजेर ५६ मिनेटमा मध्य हुने र मध्यरात १ बजेर ४१ मिनेटमा समाप्त हुनेछ। ग्रहणको कुल अवधि करिब ३ घण्टा ३० मिनेट रहनेछ।

यो चन्द्रग्रहण नेपालसहित भारत, चीन, थाइल्याण्ड, युरोप, अफ्रिका, अमेरिका र अष्ट्रेलियामा आंशिक वा पूर्णरूपमा देखिनेछ।

धार्मिक मान्यताअनुसार चन्द्रग्रहण सुरु हुनुभन्दा करिब ९ घण्टा अघिदेखि सूतक लाग्ने भएकाले दिउँसो १ बजेर ११ मिनेटबाट सूतक सुरु भएको छ। यस अवधिमा बालक, वृद्ध, गर्भवती महिला र रोगी बाहेक अरूलाई भोजन गर्न निषेध गरिएको छ।

ग्रहणको समयमा स्नान, दान, मन्त्रजप, ध्यान, धार्मिक कार्य गर्न विशेष पुण्य प्राप्त हुने विश्वास छ। त्यस्तै, ग्रहणकालमा पकाएको खाना नखाने, दूध–दहीजस्ता खाद्य पदार्थमा तुलसीपत्र राख्ने, घरको मुख्य ढोकामा गाईको गोबर राख्ने धार्मिक परम्परा पनि छ।

खगोलशास्त्रीहरूले ग्रहणलाई प्राकृतिक घटना भएकाले भय नमान्न आग्रह गरेका छन्। उनीहरूका अनुसार यसपटकको चन्द्रग्रहण शताभिषा र पूर्वभाद्र नक्षत्र (कुम्भ राशि)मा परेको छ, जसले केही राशिहरूलाई प्रतिकूल प्रभाव पार्ने उल्लेख गरिएको छ।