
विराटनगर । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
सन् १९९७ देखि २०१२ बीचमा जन्मेका युवायुवतीले माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन गर्ने घोषणा गरेका हुन्। प्रदर्शनमा विद्यार्थीको पोशाक, परिचयपत्र, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित उपस्थित हुन आह्वान गरिएको छ।
सामाजिक सञ्जाल टिकटकमा यसबारे ट्रेन्ड नै चलेको छ। उनीहरूले ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीजस्ता मुद्दा उठाउँदै देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण बनाउनुपर्ने माग गरेका छन्।
प्रधानमन्त्री भइसकेका नेताहरू समेत भ्रष्टाचारमा संलग्न भएको आरोप लाग्दा पनि कानुनी कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरिएको छ। साथै नेताहरू र उनीहरूको पारिवारिक जीवनशैलीलाई लिएर पनि टिकटकमा आलोचना बढेको छ।
हाल नेपालमा अधिकांश सामाजिक सञ्जाल बन्द रहेका बेला टिकटक र भाइबर भने सञ्चालनमा छन्।