
विराटनगर । ‘मिसेस नेपाल वर्ल्ड २०२५’का ३० जना फाइनलिस्ट सार्वजनिक भएका छन्। शनिबार महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा उनीहरूको नाम घोषणा गरिएको हो। सोही अवसरमा प्रतियोगी नम्बर पनि वितरण गरिएको थियो।
आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार देशभरका गृहिणी, चिकित्सक, इन्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कर्मचारी, महिला अधिकारकर्मी, कानुन व्यवसायी, समाजसेवी र पाइलटसम्मका महिलाहरू यसपटकको प्रतिस्पर्धामा छन्।
ग्रान्ड फिनाले असोज २८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। विजेताले अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
चितवनकी सञ्जु भट्ट, खोटाङकी इमायुङ राई, सुजाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीकी कञ्चन झा, ललितपुरकी श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, कुसुम खड्का र श्रीजना बिष्ट, विराटनगरकी पुजन ढकाल, सिन्धुलीकी रञ्जना बुढाथोकी, काभ्रेपलाञ्चोककी अरुणा लामा, नेपालगञ्जकी एलिना केसी, सुदूरपश्चिमकी विद्या चौहान, रामेछापकी निर्मला सुनुवार, लुम्बिनीकी तारा खनाल र रक्षा पन्त, इटहरीकी दीपिका तामाङ, तेह्रथुमकी सुम्निमा खापुङ, कीर्तिपुरकी बिनिता अधिकारी, नवलपरासीकी गंगा लामिछाने, स्याङ्जाकी विष्णु भण्डारी, मकवानपुरकी सरस्वती विश्वकर्मा, काठमाडौंकी सजनी जोशी, सुमिना महर्जन र विष्णु तिमिल्सिना, भक्तपुरकी सुभाना रोक्का तथा झापाकी करुणा श्रेष्ठ फाइनलिस्टमा छनोट भएका छन्।
कार्यक्रममा गायक ओम सुनार र गायिका जुनु रिजाल काफ्लेले गीत प्रस्तुत गरेका थिए भने विद्यार्थी कलाकारहरूले नृत्य प्रदर्शन गरेका थिए।