सामाजिक सञ्जाल खुलाउन माग गर्दै पत्रकार महासंघका पूर्वपदाधिकारी सडकमा

विराटनगर । सामाजिक सञ्जाल तत्काल खुला गर्न माग गर्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले आइतबार दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन्।

उक्त विरोध प्रदर्शनमा सम्पूर्ण प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधरहरूलाई सहभागी हुन आग्रह गरिएको छ। पत्रकार महासंघले सरकारसँग सामाजिक सञ्जाल नियमनका लागि विज्ञ र सरोकारवालाको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न सुझाव दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुर्‍याएको छ।” साथै, संविधानको धारा १७, १९ र २७ अनुसार प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको सुनिश्चितता गरिएको स्मरण गराइएको छ।

पत्रकार महासंघले यस कदमलाई अलोकतान्त्रिक र लोकतान्त्रिक मूल्यविपरीत ठहर गर्दै, यसले विदेशमा रहेका नेपाली नागरिक र परिवारबीचको सम्पर्कमा बाधा पुर्‍याएको र बालबालिकाको सिकाइमा दीर्घकालीन असर पर्ने चेतावनी दिएको छ।