नेपाल पत्रकार महासंघ मोरङले भोलि आगजनी भएका कार्यालयमा सरसफाइ गरिने भएको छ /

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले भदौ २८ गते (भोलि) बिहान ७:३० बजेबाट तोडफोड तथा आगजनी भएका कार्यालयहरूको सरसफाइ अभियान सञ्चालन गर्न भएको छ ।उक्त कार्यक्रममा सबै सञ्चारकर्मीहरूको सहभागिताका लागि महासंघले अपिलसमेत गरेको छ।

महासंघका सचिव नेत्र पी अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय पत्रकार र सञ्चार संस्थामाथि भइरहेको धम्की, आक्रमण र दबाबको घटना बढेको भन्दै त्यसको निन्दा गरेका छन् । यस विषयमा महासंघले बिहीबार अग्रज पत्रकार सहितको छलफल राखेको थियो ।

महासंघले निष्पक्ष, स्वतन्त्र र धर्मनिरपेक्ष पत्रकारिता गरिरहेका पत्रकार र सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गर्दै रिपोर्टिङ्गको क्रममा उत्पन्न हुने सम्भावित समस्या, धम्की, आक्रमण वा अवरोध भए तत्काल महासंघ मोरङलाई जानकारी दिन अनुरोध गरेको छ।

साथै, मुलुकको संवेदनशील परिस्थितिमा पत्रकारिता पेशामाथि नकारात्मक दृष्टिकोण राख्ने व्यक्तिहरूले प्रेस लेखेर हिँड्न नहुने, पत्रकार भन्दै भिडिओ खिचेको पाइएमा तत्काल जानकारी गराउन महासंघले आग्रह गरेको छ।