मधेस प्रदेशका मुख्यमन्त्रीको राजीनामा फेसबुकमा मात्र सीमित भयो

विराटनगर । जनमत पार्टीका नेता एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुख्यमन्त्री पदबाट दिएको राजीनामाबाट पछाडि हटेका छन् ।

जेनजी पुस्ताको आन्दोलनका कारण जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले दिएको निर्देशनका आधारमा मुख्यमन्त्री सिंह आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर अहिले देशमा नयाँ प्रधानमन्त्री नियुक्त भइसकेपछि उनी आफू नै मुख्यमन्त्री रहेको भन्न थालेका हुन् ।

भदौ २४ गते आन्दोलनले उग्र रूप लिएपछि उनले आफ्नो फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए । राजीनामा दिनका लागि पार्टीका अध्यक्ष राउतले उनलाई निर्देशन दिएका थिए । कैलाश मानसरोवरमा रहेका अध्यक्ष राउतले आफू पनि संसद् पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

मुख्यमन्त्री सिंहले आफ्नो फेसबुकमा लेखेका थिए, ‘….नागरिकको ज्यान भन्दा ठुलो अरू केही छैन भने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।’