यस वर्षको जितिया पर्व सुरु

विराटनगर ।  यस वर्षको जितिया पर्व सुरु भएको छ। आइतबार निराहार व्रत बस्ने महिलाहरूले आज ‘ओगटन’ (दर खाने) को तयारी गरेका छन्।

सन्तानको सुख, समृद्धि र दीर्घायुसहित सौर्यवृद्धिको कामनाका साथ मनाइने यो पर्व मिथिला क्षेत्रमा विशेष महत्वका साथ मनाइन्छ। सप्तमी तिथिका दिन बिहान पवित्र जलाशयमा स्नान गरी सूर्यलाई अघ्र्य अर्पण गरेपछि महिलाले व्रत सङ्कल्प गर्ने परम्परा छ।

‘ओगटन’मा दही, चिउरा र मिष्टान्नसहितका सात्विक भोजन ग्रहण गर्ने चलन छ भने नवमी तिथिको एक घडी कटाएपछि सोमबार बिहान व्रत समापन गरिन्छ।

व्रतका दिन महिलाहरूले राजा जितवाहनको कथा सुन्ने गर्छन्। पौराणिक मान्यताअनुसार द्वापरयुगमा विधवा ब्राह्मणीका मृत छोराहरूलाई राजा जितवाहनले आफ्नो तपशक्तिबाट पुनर्जीवन दिएका थिए। त्यसै समयदेखि यो कठोर व्रत बस्ने परम्परा सुरु भएको मिथिलानीहरूको विश्वास छ।

मिथिलामा विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा पर्वको तिथि तोकिने परम्परा छ। यसपालि व्रत सोमबार बिहान ७ बजे समाप्त हुने कर्मकाण्डविद्हरूले बताएका छन्।